दुर्गेश नन्दनी आधारभूत विद्यालयमा २ कोठे भवनकाे शिलन्यास

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ स्थित दुर्गेश नन्दनी आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण कार्यको शिलन्यास गरिएको छ। विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यसहित निर्माण हुन लागेको भवनको शिलान्यास प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले गर्नुभएको हो।

सिद्धार्थ सामाजिक विकास केन्द्र र शिवराज नगरपालिका वडा नं. ११ को कार्यालयको संयुक्त साझेदारीमा निर्माण हुन लागेको उक्त भवनको कुल लागत ३६ लाख ६ हजार १ सय रुपैयाँ रहेको छ। जसअन्तर्गत सिद्धार्थ सामाजिक विकास केन्द्रले ३१ लाख ६ हजार १ सय रुपैयाँ तथा वडा कार्यालयले ५ लाख रुपैयाँ व्यहोर्ने वडा अध्यक्ष रामेश्वर बर्माले जानकारी दिनुभयो।

शिलान्यास कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अभिषेक शाहले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालय पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले विगतमा हिमाल, पहाड र तराईका लागि एउटै प्रकारका भवन निर्माण गर्ने नीतिका कारण धेरै विद्यालयले समस्या भोग्नुपरेको उल्लेख गर्दै स्थानीय आवश्यकता अनुसार उपयुक्त संरचना निर्माण गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सिद्धार्थ सामाजिक विकास केन्द्रले निःशुल्क शिक्षा अभियानमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले माध्यमिक तहसम्म निःशुल्क शिक्षालाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

संस्थाका अध्यक्ष तिलाेचन घिमिरले शैक्षिक सुधारले नै समाजमा धेरै अन्य अवसरहरू सिर्जना गर्ने भएकाले शिक्षा र बालबालिकाकाे क्षेत्रमा कपिलवस्तुमा सघन रूपमा काम गरिरहेकाे जानकारी दिनुभयाे ।

भवन निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गरिने सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले बताउनुभयो।

कार्यक्रममा समाजसेवी प्रेम रायमाझी, केसरी जयसवाल लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

Author

hari

Leave a comment

Your email address will not be published. Required fields are marked *